२०८२ चैत २९ गते आइतबार

सुर्खेतमा १६ जना बिचौलिया पक्राउ, अनुसन्धान जारी



सुर्खेत — सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका (बी.न.पा.) स्थित विभिन्न सरकारी कार्यालय आसपासबाट १६ जना बिचौलिया पक्राउ परेका छन्।
प्रहरीका अनुसार यातायात व्यवस्था कार्यालयबाट १० जना महिला तथा मालपोत कार्यालय क्षेत्रबाट ६ जना पुरुष गरी १६ जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने, जग्गा नामसारी तथा भू–सम्बन्धी विभिन्न सेवा मिलाइदिने भन्दै रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउँदै बिचौलियाको रूपमा काम गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
हाल पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीले सर्वसाधारणलाई यस्ता बिचौलियाबाट सचेत रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार