सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।
सुर्खेतको गुर्भाकोट नगरपालिका-६ घर भई वीरेन्द्रनगर नगरपालिका-१ मा बस्दै आएकी इनिशाको मृत्यु भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय, सुर्खेतले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो। गत फागुन २३ गते इनिशाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधीरराज शाहीले इनिशा मृत्यु प्रकरणका सबै अनुसन्धान रिपोर्ट बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको बताए। प्रहरीले अनुसन्धान प्रतिवेदनबारे केही खुलाएको छैन।
गत फागुन २३ गते बिहान ६ बजे ‘विद्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर-४, स्थित जनजागरण सामुदायिक वनमा बिहान ९ बजे अचेत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय किशोरलाई गिरफ्तार गरेको थियो भने अर्को दिन अन्य तीन जना किशोरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेका थियो।
इनिशाका आफन्तले सामुहिक बलत्कारपछि हत्या भएको भन्दै विरोध जनाएपछि घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत खटिएको थियो। प्रहरीले इनिशाको मृत्युको कारण पत्ता लगाउन उच्च प्रविधिको प्रयोग गरेको थियो।
यस्तै, पीडित परिवारले घटनामा संलग्नमाथि कारबाही नहुन्जेल शव नबुझ्ने अडान लिएका छन्। इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ।








प्रतिक्रिया दिनुहोस्