दैलेख, जेठ १६ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ठाटीकाँध गाउँपालिका वडा नं. ५ कमिटीका अध्यक्ष नरबहादुर कठायतले आफ्नो पदबाट राजिनामा दिएका छन्।
कठायतले सामाजिक सञ्जाल फेसबुकमार्फत राजिनामा पत्र सार्वजनिक गर्दै पारिवारिक तथा व्यक्तिगत समस्याका कारण पार्टीलाई आवश्यक समय दिन नसकेको र हाल सम्बन्धित भुगोल बाहिर बस्नुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन्।
मंसिर २८, २०८१ मा सम्पन्न वडा अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका कठायतले संगठनको गरिमा, प्रभावकारिता तथा जिम्मेवारीप्रतिको इमानदारीलाई मध्यनजर गर्दै पदबाट अलग हुने निर्णय गरेको बताएका छन्।
राजिनामा पत्रमा उनले पदबाट अलग भए पनि पार्टीप्रतिको आस्था कायम रहने र आगामी दिनमा साधारण कार्यकर्ताको रूपमा पार्टी तथा जनहितका अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त राजिनामापछि ठाटीकाँध–५ मा एमालेको वडा नेतृत्वबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। हाल उनको राजिनामाबारे पार्टीको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।









प्रतिक्रिया दिनुहोस्