कालिकोट जिल्लाको भर्ता स्थित श्री जनज्योति माध्यमिक विद्यालय मा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। यसपटक समितिको नेतृत्वमा युवा तथा सूचना प्रविधि (आईटी) समेत रहेका दिलिप अधिकारी अध्यक्षमा मनोनीत भएका छन्।
युवा पुस्ताको नेतृत्वमा विद्यालय सञ्चालन हुँदा शैक्षिक गुणस्तर सुधार, प्रशासनिक व्यवस्थापनमा पारदर्शिता र प्रविधिमैत्री शिक्षण प्रणाली विकास हुने अपेक्षा स्थानीयवासीले गरेका छन्। विशेषगरी डिजिटल शिक्षा, विद्यार्थीको सिकाइ क्षमता वृद्धि तथा विद्यालयको समग्र विकासमा नयाँ समितिले सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।
विद्यालय व्यवस्थापन समितिमा सदस्यतर्फ दीपेन्द्र अधिकारी, महिला सदस्यमा धनकला चौलागाईं तथा सदस्यमा राजु कामी चयन भएका छन्। नवगठित समितिले विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक वातावरण सुदृढीकरण र विद्यार्थी हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।
स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। युवा अध्यक्षको नेतृत्वले विद्यालयलाई थप उन्नत र प्रतिस्पर्धी बनाउने आशा व्यक्त गरिएको छ।









प्रतिक्रिया दिनुहोस्