२०८२ चैत २९ गते आइतबार

सुर्खेतको श्री सनसाइन एकेडेमीमा अभिभावक भेला तथा नतिजा प्रकाशन कार्यक्रम भव्य रूपमा सम्पन्न



सुर्खेत — सुर्खेतस्थित श्री सनसाइन एकेडेमी स्कुल मा अभिभावक भेला, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वि.सं. २०५९ साल फागुन २९ गते स्थापना भएको यस विद्यालयले कक्षा १ बाट १५ जना विद्यार्थीबाट आफ्नो यात्रा सुरु गरेको थियो। क्रमशः विस्तार हुँदै कक्षा ५ सम्म पुग्दा विद्यार्थी संख्या ९० पुगेको थियो भने कक्षा ८ सञ्चालन हुँदासम्म करिब ३०० विद्यार्थी पुगेका थिए। हाल विद्यालयमा कक्षा १० सम्म अध्ययन हुने र ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिइएको छ।
कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। साथै अभिभावकहरूसँग शैक्षिक प्रगति, अनुशासन र आगामी योजनाबारे छलफल गरिएको थियो।
उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरू, नेसनल प्याब्सनका पदाधिकारीहरू, वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख तथा प्याब्सनका अन्य पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।
विद्यालयका सञ्चालक समिति सदस्य तथा गेम शिक्षक टेकेन्द्र गिरि ले विद्यालयको विकासमा सबैको सहकार्य अपरिहार्य रहेको बताए। त्यसैगरी, विद्यालयका प्रिन्सिपल तथा सञ्चालन सदस्य महेन्द्र पुन ले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने लक्ष्य रहेको उल्लेख गरे।
कार्यक्रमले विद्यालय, अभिभावक तथा सरोकारवालाबीचको सम्बन्ध अझ मजबुत बनाएको विश्वास आयोजकले लिएका छन्।

प्रकाशित मिति : २०८२ चैत २७ गते शुक्रबार