
चकको धूलोबाट माटोको सुवासमा रूपान्तरण भएको जीवन कथा हो, नर बहादुर बडुवालको। विद्यालयको कक्षामा अक्षरहरू रोप्ने उनको मन, अब आफ्नै बारीमा हरिया सपनाहरू फलाउँदैछ किवीका रूपमा।
पूर्व शिक्षक बडुवाल, कहिल्यै गुनासो नगर्ने, कहिल्यै नथाक्ने अनुहार हो । उनले चक फालेर कोदालो समाते, तर शिक्षाको आदर्श छोडेनन्। अहिले पनि उनी आफ्नो खेतका बोटहरूलाई त्यसैगरी हुर्काउँछन्–जसरी कुनै दिन उनले विद्यार्थी हुर्काएका थिए।
२०७९ माघ २१ गते, उनले आफ्ना आशाका बिरुवाहरूमा २१ वटा पोथी र ४ वटा भाले किवीका बोट रोपे । उनलाई लागेको थियो योजना र तालिमबाट सिप सिकेर विरुवा रोपीएला, कहिले फुल्ला ? कहिले फल लाग्ला ? भन्ने कौतूहलता ।तर उनको बारीले निराश गरेन उनको बारीमा १ वर्ष ३ महिनामै किवीको फूल फुल्यो। बैशाखको बिहानमा किवीका हाँगाहरूमा हरिया दानाहरू टल्किन थाले। फल लागेका ११ वटा बोटहरूमध्ये एक बोटमा २१० वटा दाना देखेर उनी हौसिय । त्यो देखेर उनका आँखा रसाए । हातका चाउरीभित्रको पसिना र थकान एकैछिनमा हरायो।
“गर्न सकिन्छ भन्ने विश्वासले नै मलाई अघि बढायो, उनी भन्छन्, सकस भयो, पाइलामा माटो, घाममा पसिना–तर फल देख्दा सबै बिर्सिन्छु।” उनले कहिले तार बाँध्न, कहिले मल हाल्न, कहिले पानी सिञ्चाइ गर्न भुलेनन्। हरेक बिहान बगैंचालाई निहालेर मुस्कुराउने उनको बानी छ । यी मेरा नयाँ विद्यार्थी हुन्, भन्ने उनको मनमा छ ।उनको मेहनतको फल आज गाउँलेहरूका आँखाको गौरव बनेको छ।उनले छोएको माटोले फल दिन थालेको छ, उनी हाँस्दा गाउँ मुस्कुराउँछ। “म शिक्षण पेशाबाट बाहिरिएँ, तर सिकाउने र हुर्काउने काम कहिल्यै छोडिनँ। फरक यति हो–अहिले मेरा विद्यार्थीहरू किवीका हाँगाहरू हुन्।” उनी भन्छन् ।
किवीका ती हाँगाहरू अहिले उनको जीवनका पाना जस्ता छन् । हरेक बोटसँग कथा छ, हरेक फलसँग सम्झना छ। उनले बाँधेको तार, राखेको मल, हालेको पानी–सब कुराले उनलाई बाँच्ने ऊर्जा दिन्छ। म शान्त छु यहाँ। मैले अब किताब होइन, प्रकृतिलाई पढ्छु। उनी भन्छन्।आज नर बहादुर बडुवालको बगैंचा शिक्षाको केन्द्रजस्तै बनेको छ। उनले कहिल्यै भाषण दिएनन्, तर उनको पसिना आफैं भाषण बनेर बोलेको छ–मेहनत, धैर्य, र विश्वासको।
प्रतिक्रिया दिनुहोस्