मन्सरा बिष्ट ठाटिकाँध गाउँपालिका दैलेख -जब एउटा नारी गर्भवती हुन्छ, उसको शरीर मात्र बदलिँदैन, उसको जीवन बदलिन्छ।
उसको हरेक सासमा एक नयाँ जीवनको धड्कन बस्छ।
उसको हरेक पीडामा एउटा बालकको भविष्य बोकिएको हुन्छ।
तर कति विडम्बना!
यो नारीको गर्भयात्रा, जुन माया, सहारा र सम्मानले सजिनुपर्ने थियो, त्यसको सट्टा उसलाई बेवास्ता, अपमान र तिरस्कारले छोपिन्छ।
कसैले उसको थकाइ बुझ्दैन।
कसैले उसको पीडा पढ्दैन।
कसैले उसको आँसु पुछ्दैन।
श्रीमानले साथ छोड्छन्।
सासुससुराले वास्ता गर्दैनन्।
नन्दले हेला गर्छिन्।
माइती पक्षले “यो त उसको पोइलको कुरा हो” भन्दै पाखा लगाइदिन्छ।
सुत्केरी हुन लागेको शरीरलाई सहयोगको सट्टा घाउ थपिदिन्छ,
मिठा शब्दको सट्टा कडा चिर्पट हानिन्छ।
तर समय रुंदैन।
अन्ततः त्यो नारीले आफ्नो ज्यानको जोखिमा एउटा सानो जीवलाई संसारमा ल्याउँछ।
र जब बच्चाले पहिलो पटक सास फेर्छ,
त्यतिबेलासम्म उसको गर्भयात्रा उसको एक्लैको लडाइँ बनिसकेको हुन्छ।
त्यो क्षणमा—
जसले गर्भको पीडा बुझेका थिएनन्,
जसले नौ महिना एक थोपा माया नदिएका थिए,
जसले रातभर उसको कराह सुनेका थिएनन्—
उनीहरू आउँछन्,
“यो मेरो नाती हो!”
“यो मेरो छोरा हो!”
“यो हाम्रो रगत हो!”
हो, रगत हुन सक्छ, तर अधिकार हुँदैन।
मातृत्वको अधिकार केवल उसलाई हुन्छ—
जसले गर्भको पीडा देखेको छ,
जसले सुत्केरीको आँसु पुछेको छ,
जसले डर, कमजोरी, र निद्रा हराएको रातमा उसको हात समातेको छ।
जसले नौ महिना अँध्यारोमा गर्भवती नारीलाई एक्लै छोड्छ,
सुत्केरी हुँदा उसको रक्तबिन्दु देखेर भाग्छ,
र बच्चा जन्मिएपछि मात्रै “हाम्रो पनि हक छ” भन्छ—
त्यो हक उनीहरूले पहिले नै गुमाइसकेका हुन्छन्।
किनकि बच्चा केवल रगतले मात्र आफ्नो हुँदैन,
बच्चा मायाले, ममताले, र सहाराले आफ्नो हुन्छ।
र त्यो माया जसले गर्भको नौ महिना बोक्छ,
र सुत्केरीको पीडामा पनि हात थाम्छ,
त्यसको मात्र त्यो बच्चामा साँचो अधिकार हुनछ









प्रतिक्रिया दिनुहोस्