२०८२ कात्तिक २२ गते शनिबार

कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठक: प्रदेशसभा अधिवेशन अन्त्यदेखि पत्रकारिता पुरस्कारसम्मका महत्वपूर्ण निर्णयहरू



सुर्खेत : कर्णाली प्रदेश सरकारले आज सम्पन्न मन्त्रीपरिषद्को बैठकमार्फत पाँच महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। बैठकमा प्रदेशसभा अधिवेशन अन्त्यदेखि लिएर पत्रकारिता पुरस्कार वितरण कार्यविधिसम्मका विषयमा छलफल गरी निर्णय लिइएको हो।
प्रवक्ता विनोदकुमार शाहद्वारा जारी गरिएको विज्ञप्तिअनुसार, मन्त्रीपरिषद्को बैठकले निम्न निर्णयहरू गरेको छ:
१. प्रदेशसभा अधिवेशन अन्त्य सिफारिस
प्रदेशसभाको दोस्रो कार्यकालको छैठौं अधिवेशन २०८२ साउन २१ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।
२. सचिव सरुवा
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलक राज ढकाललाई कागजातमा सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरिएको छ।
३. प्रशासनिक केन्द्र तोकियो
सर्वोच्च अदालतको परमादेश (मिति २०८२/०२/०७) अनुसार जाजरकोट जिल्लाको जुनिचाडे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं. ४ स्थित लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।
४. पत्रकारिता पुरस्कार कार्यविधि पारित
प्रदेश सरकारले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२’ स्वीकृत गरेको छ, जसअन्तर्गत योग्य पत्रकारहरूलाई पुरस्कृत गरिने छ।
५. सूचनाको हक कार्यान्वयन अनुगमन समिति गठन
प्रदेशका कार्यालयहरूमा सूचनाको हक कार्यान्वयन भएको/नभएको अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा ‘कर्णाली प्रदेश अनुगमन समिति’ गठन गरिएको छ।
यी निर्णयहरूले प्रदेश शासन प्रणाली सुदृढ बनाउने उद्देश्य लिएको प्रदेश सरकारको भनाइ छ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार