२०८२ कात्तिक २२ गते शनिबार

भेरी जलविद्युत आयोजनाबाट एक सय २४ घरधुरी प्रभावित हुने



सुर्खेत । गेजुबा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले निर्माण गर्न लागेको दुई सय ७० मेगावाट भेरी–१ अर्धजलाशययुक्त आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (एआइए) प्रतिवेदन सार्वजनिक भएको छ । वन तथा वातावरण मन्त्रालयले एआइए सार्वजनिक गरेको हो ।कर्णाली प्रदेशको जाजरकोट जिल्लाको नलगाढ नगरपालिका वडा नं. १०,११,१२,१३ तथा रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिकाको वडा नं. ४,५,६ भएर बग्ने भेरी नदीको पानी प्रयोग गरी दुई सय ७० मेगावाट विद्युत उत्पादन गर्ने र सोहि पानी भेरी नदीमा छाडिने लक्ष्य भएको पिकिंग रन अफ रिभर आधारित भेरी–१ अर्धजलाशययुक्त जलविद्युत आयोजना प्रस्ताव गरिएको छ ।
आयोजनामा स्थायी तथा अस्थायी गरी कूल २४.०७५ हेक्टर राष्ट्रिय वन चाहिने र जाजरकोट जिल्लाको २०.५२३ हेक्टर र रुकुम पश्चिम जिल्लाको ३.५५२ हेक्टर जमिन आवश्यकता रहेको छ । जसमा जाजरकोट जिल्लाको राष्ट्रिय वनवाट एक दुई सय दुई वटा रुख र रुकुम पश्चिम जिल्लाको राष्ट्रिय वनवाट ५० वटा गरेर जम्मा दुई सय ५२ रुख कटान हुनेछन् । आयोजनाबाट एक सय २४ घरधुरी प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै, आयोजना बनाउनका आयोजनाको लागत करिब ७१ अर्ब ९७ करोड रुपैयाँ अनुमान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार