सुर्खेत : कर्णाली प्रदेशमा आजसम्म पनि सूचना तथा सञ्चारको पहुँच कमजोर रहेको भन्दै सामाजिक अभियन्ता एकेन्द्रबहादुर शाही ले चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कर्णालीका धेरै बिकट गाउँहरूमा अझैसम्म मोबाइल नेटवर्कसमेत राम्रोसँग नपुग्दा स्थानीय बासिन्दाले देश–विदेशमा भइरहेका गतिविधिबारे जानकारी पाउन महिनौँ र वर्षौँ लाग्ने अवस्था रहेको बताएका छन्।
शाहीका अनुसार कर्णालीका जनताले पटक–पटक नेताहरूसँग गाउँमा नेटवर्क विस्तार गर्न माग गरे पनि नेताहरू चुनाव जितेपछि गाउँ फर्केर समस्या हेर्न नआउने गरेको गुनासो गरेका छन्। “शहरमा बस्ने नेताहरूले मोबाइल र टेलिभिजनमार्फत तुरुन्तै सूचना पाउँछन्, तर कर्णालीका गाउँमा त्यस्तो सुविधा छैन,” उनले बताएका छन्।
उनले कर्णालीमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली र सञ्चारजस्ता आधारभूत सेवाको अझै अभाव रहेको उल्लेख गर्दै धेरै ठाउँमा सोलार र दाउराको भरमा जनजीवन चलिरहेको बताएका छन्। अस्पतालमा आवश्यक औषधि, डाक्टर र बिरामी बोक्ने स्ट्रेचरसमेत अभाव रहेको उनको भनाइ छ।
कर्णालीलाई ‘स्विजरल्याण्ड बनाउने’ राजनीतिक प्रतिबद्धता वर्षौँदेखि दोहोरिँदै आए पनि व्यवहारमा त्यस्तो विकास देखिन नसकेको शाहीको टिप्पणी छ। उनले कर्णालीमा सूचना, सञ्चार र शिक्षाको पहुँच विस्तार भए जनताको चेतना बढ्ने र त्यसले राजनीतिक परिवर्तनसमेत ल्याउन सक्ने बताएका छन्।
कर्णालीका जनतालाई सचेत हुँदै सही नेतृत्व चयन गर्न उनले आग्रह गरेका छन्। “यदि हामीले आफ्नो भोट बदल्यौँ भने विकास पनि बदलिन सक्छ,” शाहीले बताएका छन्।
हाल मकवानपुरको हेटौंडामा बसोबास गर्दै आएका शाहीले कर्णालीको समग्र विकासका लागि सरकार र सरोकारवाला निकायले शिक्षा, स्वास्थ्य, सडक, बिजुली र सञ्चार पूर्वाधारमा प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।








प्रतिक्रिया दिनुहोस्