२०८२ कात्तिक २२ गते शनिबार

अपांगता भएका व्यक्तिका लागि कर्णालीमा ऐतिहासिक ह्वीलचियर दौड सम्पन्न



सुर्खेत :कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलोपटक खुला ह्वीलचियर दौड प्रतियोगिता सम्पन्न भएको छ।
वीरेन्द्रनगर नगरपालिका वडा नं ३ को आयोजनामा तथा पारा फाउण्डेशन सुर्खेतको सह-आयोजनामा भएको प्रतियोगिता एरिचोकदेखि रेडियो नेपाल पुलसम्मको दुरीमा सञ्चालन गरिएको हो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले अपांगता भएका व्यक्तिहरूलाई खेलकुदका माध्यमबाट समाजको मूलधारमा ल्याउन यस्तो प्रतियोगिता सहयोगी हुने बताइन् ।
हामी सबै वर्गको सरकार हौं उनले भनिन्,`सबै क्षेत्रको प्रतिनिधित्व हुने खालका कार्यक्रम गर्नुपर्नेमा हामी प्रतिबद्ध छौं ।वडा नं ३ का अध्यक्ष विनोद सिंह बिष्टले अपांग व्यक्तिका लागि पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै अब नगर क्षेत्रलाई अपांगमैत्री बनाउने अभियान सञ्चालन गरिने बताए ।
हामीले अन्य धेरै खेलकुद प्रतियोगिता आयोजना गर्यौं, तर अपांगता भएका व्यक्तिकाे मनोबल बढाउनेतर्फ ध्यान दिन सकेका थिएनौं उनलेे भने,`अब शौचालय, बाटो, सरकारी कार्यालय सबै अपांगमैत्री बनाउँछौं ।`
पारा फाउण्डेशन सुर्खेतका को-अर्डिनेटर मनराज कठायतले प्रतियोगिता आगामी दिनमा अझ व्यापक बनाइने जानकारी दिए।यसलाई हामी राष्ट्रियस्तरको बनाउने योजना बनाइरहेका छौं उनले भने,`कर्णालीमै अपांगता भएका व्यक्तिहरूको खेलकुदको सशक्त सुरुवातका रूपमा हामीले हेरेका छौं।`
प्रतियोगितामा जम्मा २५ जना असक्त व्यक्तिहरूको उपस्थिति भए पनि ह्वीलचियरको अभावले गर्दा ७ जनामात्रै खेलाडी सहभागी हुन सकेका थिए ।
सहभागीमध्ये धेरैले आफ्नै ह्वीलचियर नभएर अरूसँग मागेर प्रतियोगितामा भाग लिएका थिए ।
एक सहभागीले हामीसँग ह्वीलचियर थिएन, साथीको सहयोगमा भाग लिएका हौं । यस्तो प्रतियोगिता कर्णालीमै हुनुले हामीलाई ठूलो आत्मबल मिलेको छ ।`
प्रतियोगितामा भुपेन्द्रबहादुर रोकाया प्रथम हुँदै नगद १५ हजार रुपैयाँ पुरस्कार जिते । दुधकली कार्की दोस्रो हुँदै १० हजार रुपैयाँ र नौले सहकारीकी प्रतिनिधि तेस्रो हुँदै ५ हजार रुपैयाँ प्राप्त गरिन् ।
पारा फाउण्डेशनका अध्यक्ष किशोरबहादुर शाहीले प्रतियोगिता अपांगता भएका व्यक्तिहरूको क्षमता प्रदर्शन र सामाजिक आत्मविश्वास निर्माणका लागि महत्वपूर्ण रहेको बताए ।
हामी अपांगता भएका दाजुभाइ-दिदीबहिनीका लागि सम्भावना देख्ने र देखाउने प्रयासमा छौं उनले भने,`यो प्रतियोगिता त्यसकै थालनी हो ।`
कार्यक्रमले कर्णालीमा अपांगता भएका व्यक्तिका लागि खेलकुदको नयाँ ढोका खोलिदिएको सहभागीहरू बताउँछन् ।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार