२०८३ वैशाख २ गते बुधबार

पब्लिक एकेडेमीका प्रबन्धक दीपेन्द्रराज खनाललाई राष्ट्रिय शिक्षा सम्मान–२०८२



पब्लिक एकेडेमीका प्रबन्धक दीपेन्द्रराज खनाललाई राष्ट्रिय शिक्षा सम्मान–२०८२
सुर्खेत : शिक्षा क्षेत्रमा प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह गर्दै आएका पब्लिक  एकेडेमीका प्रबन्ध निर्देशक दीपेन्द्रराज खनाल ‘राष्ट्रिय शिक्षा सम्मान–२०८२’ बाट सम्मानित भएका छन् ।
फोकस नेपालद्वारा आयोजित विशेष समारोहमा शिक्षा, शैक्षिक अभियान तथा सामाजिक सेवामा खनालले पुर्‍याएको निरन्तर, उल्लेखनीय र उदाहरणीय योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो । विभिन्न शैक्षिक संस्था तथा सामाजिक संघ–संस्थामार्फत शिक्षा क्षेत्रको विस्तार, गुणस्तर सुधार र सामाजिक चेतनाको अभिवृद्धिमा खेलेको भूमिकाका कारण खनाल यो सम्मानका लागि छनोट भएका आयोजकले जनाएको छ ।
नेपाल पर्यटन बोर्ड, काठमाडौंमा सम्पन्न समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष माननीय विमला घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित भइ सम्मान प्रदान गरेकी थिइन् । कार्यक्रममा फोकस नेपालका अध्यक्ष रामचन्द्र पौडेल सहित शिक्षा, समाजसेवा र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सम्मानपछि प्रतिक्रिया दिँदै खनालले यो सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा नविन सोच, गुणस्तरीय अभ्यास र सामाजिक उत्तरदायित्वका लागि थप दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
फोकस नेपालले शिक्षा र समाज विकासमा प्रभावकारी योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष राष्ट्रियस्तरमा सम्मान प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार