
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक बढाउनुपर्ने प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गरे पर्यटकको संख्यासमेत बढ्ने दाबी गरेका हुन् ।
धार्मिक पर्यटकले कम खर्च गर्ने तर्क गर्दै घिमिरेले भने, ‘मैले त बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई व्यवसायीकरण गरौँ । जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउनेछ । खासगरी धार्मिक पर्यटकले खर्च कम गर्छन् । एडभेन्चरको पर्यटक थोरै मात्रामा हुन्छन् । संसारमै सबैभन्दा बढी पर्यटक हुने भनेको मनोरञ्जनकै हो । त्यसलाई हामीले आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ । यो कुरा विपक्षीले उठाइदिएको भए क्या काइदा हुने थियो ।’ सरकारले ल्याएका प्रतिस्थापन विधेयकमा यौन व्यवसाय व्यवसायीकरणको विषय समेट्नुपर्नेमा छुटेको भन्दै उनले असन्तुष्टिसमेत जनाए ।
घिमिरेले धार्मिक क्षेत्रहरू पशुपतिनाथ, मुक्तिनाथजस्ता धार्मिक क्षेत्रमा मदिरा र मासुजन्य पदार्थलाई प्रतिबन्ध लगाए पनि मनोरञ्जनका लागि छुट्टै ठाउँ तोकेर यसको व्यावसायिक विकास गर्नुपर्ने प्रस्ताव पनि गरे । ‘धार्मिक क्षेत्रमा पूर्ण रूपले मदिरा, मासुजन्य पदार्थ प्रतिबन्ध गर्नुपर्छ । तर, हामीले व्यावसायिक रूपमा यसको विकास पनि गर्नुपर्छ । त्यसका लागि निश्चित ठाउँ तोकेर जानुपर्छ । मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्