सुर्खेत, २४ असार — आर्थिक वर्ष २०८२/८३ का लागि कर्णाली प्रदेशकै सबैभन्दा ठूलो बजेट वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक गरेको छ। नगरपालिकाले ४ अर्ब ३८ करोड रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गर्दै प्रदेशका ७९ स्थानीय तहहरूमध्ये सबैभन्दा ठूलो बजेट ल्याउने पालिका बनेको हो।
नगर प्रमुखसहित कार्यपालिकाले सार्वजनिक गरेको बजेट अनुसार वीरेन्द्रनगरले भौतिक पूर्वाधार विकास, सहरी सौन्दर्यकरण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र डिजिटल सेवा प्रणालीमा प्राथमिकता दिने जनाएको छ।
नगरपालिकाले विभिन्न योजनामार्फत आगामी वर्षलाई “सुधार, विस्तार र रूपान्तरणको अभियान” का रूपमा अघि बढाउने घोषणा गरेको छ। बजेटको ठूलो हिस्सा आन्तरिक स्रोत, संघीय सरकारको अनुदान, प्रदेश सरकारको साझेदारी कार्यक्रम, तथा अन्य दातृ निकायको सहकार्यबाट जुटाइने जनाइएको छ।
यससँगै, कर्णाली प्रदेशका अन्य नगर तथा गाउँपालिकाहरूले पनि आ–आफ्नो बजेट क्रमशः सार्वजनिक गरिरहेका छन्, तर अहिलेसम्म सार्वजनिक भएका विवरणअनुसार वीरेन्द्रनगरको बजेट नै प्रदेशमै सबैभन्दा ठूलो हो ।









प्रतिक्रिया दिनुहोस्