२०८३ वैशाख २ गते बुधबार

ठाटीकाँध गाउँपालिका–२ अझै सडक पहुँचविहीन, जनप्रतिनिधिको बेवास्ताप्रति स्थानीय आक्रोश



दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिका वडा नम्बर २ उनिकोट सम्म अझैसम्म सडक नपुगेको विषयलाई लिएर स्थानीय नागरिक आक्रोशित बनेका छन्। प्रदेश सरकारका माननीय कृषि मन्त्री बिनोद शाहको घरदेखि करिब १५ मिनेट पैदल दूरीमै रहेको उक्त बस्तीमा अहिलेसम्म पनि सडकको पहुँच नपुग्नु विडम्बनापूर्ण रहेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार वडा अध्यक्ष प्रेमबहादुर रामजालीले पटक–पटक मन्त्री शाहसमक्ष सडक निर्माणका लागि आग्रह गरे पनि कुनै सुनुवाइ नभएको बताएका छन्। त्यस्तै, गाउँपालिका अध्यक्ष रक्ष्य बहादुर शाहको समेत यसतर्फ ध्यान नपुगेको स्थानीयको आरोप छ।
सडक अभावकै कारण त्यहाँका नागरिकहरू सामान्य दैनिक उपभोग्य सामग्री खरिद गर्नसमेत करिब दुई घण्टा जान र दुई घण्टा फर्कनुपर्ने बाध्यतामा छन्। वडा कार्यालयमा सिफारिस तथा अन्य कामका लागि आवत–जावत गर्नसमेत अत्यन्तै कठिनाइ हुने गरेको स्थानीय बताउँछन्।
अझ आश्चर्यजनक कुरा के छ भने, पालिकाका छ वटा वडा मध्ये वडा नम्बर २ पालिका केन्द्रकै नजिक भए पनि अहिलेसम्म सडक सञ्जालले छोएको छैन। उक्त क्षेत्रबाट स्थानीय तहदेखि प्रदेश र संघसम्म प्रतिनिधित्व गर्ने थुप्रै नेताहरू भए पनि विकासमा आवश्यक ध्यान नदिइएको आरोप स्थानीयले लगाएका छन्।
प्रदेशमा कृषि मन्त्री बिनोद शाह, भौतिक राज्यमन्त्री गमता विक तथा संघीय संसदमा माननीय दिकपाल शाही जस्ता नेताहरूको प्रतिनिधित्व हुँदाहुँदै पनि आधारभूत पूर्वाधार विकास नहुनु दुखद रहेको स्थानीयको भनाइ छ।
स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल सडक निर्माणको पहल गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार