सुर्खेत :ठाटीकाँध गाउँपालिकाका नरबहादुर कठायतले पुराना राजनीतिक नेतृत्वले अरूलाई मात्र प्रश्न गर्ने होइन, आफ्नै धरातल र भूमिकामाथि पनि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै कठायतले बर्सौंदेखि नेपाली जनताले देश बनाउने म्यान्डेट राजनीतिक नेतृत्वलाई नै दिएको स्मरण गराएका छन्। तर, उक्त म्यान्डेटको सही उपयोग हुन नसकेकोप्रति उनले गम्भीर प्रश्न उठाएका छन्।
उनका अनुसार गरिबीको अवस्थाबाट राजनीतिमा प्रवेश गरेका धेरै नेताहरूले भ्रष्टाचारमार्फत अर्बौंको सम्पत्ति थुपार्नु, देशका महत्वपूर्ण योजनामा कमिशन माग्नु र विकासका योजनालाई कमिशनसँग साटफेर गर्नु जस्ता गतिविधिले जनताको भरोसा तोडेको छ।
त्यसैगरी, फरक राजनीतिक विचारधारा राख्नेहरूसँग प्रतिशोध साँध्नु र राज्यका संवेदनशील निकायमा अयोग्य कार्यकर्ताको भर्ती गर्नुले राज्य संयन्त्रमै समस्या सिर्जना भएको उनले उल्लेख गरेका छन्।
कठायतले आजका सचेत युवाहरूले यिनै कमजोरीहरू बुझ्दै नयाँ राजनीतिक विकल्पतर्फ आकर्षण बढाएको दाबी गरेका छन्। उनका अनुसार यही कारण नयाँ नेतृत्वको सुखद सुरुवात देखिन थालेको हो।
“यदि हामी पुराना राजनीतिक शक्तिहरूले अझै पनि नेपाली जनतामाझ बलियो उपस्थिति कायम राख्न चाहन्छौं भने, सुध्रनु बाहेक अर्को विकल्प छैन,” उनले स्पष्ट रूपमा चेतावनी दिएका छन्।
उनको यो भनाइले वर्तमान राजनीतिक परिवेशमा आत्मसमीक्षा, सुधार र जवाफदेहिताको बहसलाई थप चर्काउने अपेक्षा गरिएको छ।








प्रतिक्रिया दिनुहोस्