काठमाडौं । अन्ततः गगन थापाले रुख पाएका छन्, शेरबहादुर देउवाले दुःख पाएका छन् । निर्वाचन आयोगले शुक्रवार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिलाई मान्यता दिएपछि राजनीतिक जीवनको उत्तरार्धमा देउवाले नयाँ संघर्ष गर्नुपर्ने देखिएको छ
निर्वाचन लड्ने घोषणा देउवाले गरिसकेका छन् । गगन थापाको हस्ताक्षरमा प्राप्त टिकटमा चुनाव लड्नुपर्ने अवस्थाबाहेक देउवासँग रुख हुनेछैन ।
संस्थापन पक्षले राजनीतिक र कानुनी प्रतिवाद गर्ने उल्लेख गरिसकेका कारण गगन नेतृत्वको कांग्रेसभित्रै देउवा रहन्छन् भनिहाल्ने अवस्था छैन । कानुनी लडाइँबाट जित हासिल गर्दाबाहेकको अवस्थामा अब कांग्रेस नेतृत्वमा देउवाको पुनरागमन असम्भव प्रायः हुनेछ । जसले देउवाको राजनीतिक जीवनको समापनलाई सुखद हुन दिनेछैन ।
नेपाल विद्यार्थी संघको पहिलो महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवा कांग्रेस राजनीतिमा सधैँ केन्द्रमा रहे । पञ्चायतकालमा बिपीको विश्वास जितेका देउवालाई प्रजातन्त्र पुनः स्थापना लगत्तै गिरिजाप्रसाद कोइरालाले अवसर दिए । २०४८ सालमा कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेयता देउवाले पछाडि फर्केर हेर्नुपरे ।
२०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका देउवा हालसम्म पाँच पटक प्रधानमन्त्री बनिसकेका छन् । २०५९ सालमा नेपाली कांग्रेस विभाजनपछि बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) लाई नेतृत्व गरेका देउवा २०७२ सालमा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भए । कांग्रेस सभापतिका रूपमा दोस्रो कार्यकालको उत्तरार्धमा देउवाले सोचेजस्तो भएन । सोचेजस्तो हुँदो हो त उनी एमालेसँगको सत्ता गठबन्धनका बलमा आगामी असारमा छैटौंपटक प्रधानमन्त्री बन्ने प्रतीक्षामा थिए । जेनजी आन्दोलनले देउवाको यो राजनीतिक योजनामा तुषारापात गरिदियो ।
एकातिर राष्ट्रिय राजनीतिमा गहिरिँदो संकट छँदैथियो, अर्कोतिर देउवा आफ्नै पार्टीभित्रको संकटमा फसेका छन् । असोज २८ मा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिए पनि देउवाले कांग्रेस राजनीतिको लगाम आफ्नै हातमा लिइबसेका थिए । विशेष महाधिवेशनले त्यो लगाम खोसेको छ ।
देउवासामु तत्कालका लागि २ विकल्प छन् । पहिलो विकल्पमा गगन थापा नेतृत्वको कांग्रेसलाई नै स्वीकार गरेर अगाडि बढ्ने । त्यसमा देउवाको दिलचस्पी हुने सम्भावना देखिँदैन । दोस्रो कानुनी लडाई लड्ने । जितेको अवस्थामा नेतृत्वमा पुनरागमन गर्ने । दोस्रो विकल्पमा जाँदा तत्कालका लागि देउवाले अन्तरिम प्रबन्ध गर्नुपर्नेछ । पार्टीको, चुनाव चिन्हको, आफ्ना समर्थकहरूको व्यवस्थापनको ।








प्रतिक्रिया दिनुहोस्