२०८३ वैशाख ३ गते बिहीबार

नेपाली कांग्रेस दैलेख–२ मा विशेष अभियान संयोजकमा मिलन शाही मनोनयन



सुर्खेत  : नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति दैलेख–२ ले आम निर्वाचन लक्षित विशेष अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित मिलन शाहीलाई विशेष अभियान समन्वय समितिको संयोजक पदमा मनोनयन गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट प्राप्त परिपत्र तथा क्षेत्रीय कार्यसमितिको मिति २०८२ माघ १९ गते बसेको बैठकको निर्णयअनुसार, फागुन २९ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टी संगठनलाई सुदृढ बनाउँदै उम्मेदवारलाई विजयी गराउने जिम्मेवारीसहित शाहीलाई उक्त पदमा मनोनयन गरिएको हो।
पत्रमार्फत कांग्रेसले अभियानलाई व्यवस्थित, अनुशासित र परिणाममुखी ढंगले सञ्चालन गर्न शाहीको मन, वचन र कर्मबाट पूर्ण योगदान रहने विश्वास व्यक्त गरेको छ। साथै, सर्वसम्मत रूपमा मनोनयन भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना पनि गरिएको छ।
क्षेत्रीय सभापति भरत प्रसाद रिजालद्वारा हस्ताक्षरित पत्रमा संयोजक शाहीलाई आफ्ना समिति तथा उपसमितिको बैठक बसाली आवश्यक कार्ययोजना तयार गरी अभियान सञ्चालनको विवरण क्षेत्रीय कार्यसमितिलाई जानकारी गराउन समेत निर्देशन दिइएको छ।
नेपाली कांग्रेसले दैलेख–२ मा संगठन सुदृढीकरण र चुनावी प्रतिस्पर्धामा निर्णायक जित हासिल गर्न विशेष अभियानलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ।

प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार