तिलक रिजाल सुर्खेत : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २, दैलेखबाट योगेन्द्र शाही लाई उम्मेदवार बनाएको छ। पार्टीले सार्वजनिक गरेको प्रचार सामग्रीअनुसार शाहीलाई दिगो विकास, पूर्वाधार निर्माण र कर्णालीको समग्र समृद्धिको एजेन्डासहित चुनावी मैदानमा उतारिएको हो।
शाहीले आफ्नो प्राथमिकतामा शिक्षा, स्वास्थ्य र रोजगारी, युवाको सहभागिता र अवसर विस्तार, तथा दैलेख र कर्णाली प्रदेशको सन्तुलित विकासलाई अगाडि सारेका छन्। ‘यो पटक मेरो भोट तारा चिन्हमा’ भन्ने नारासहित पार्टीले जनसमर्थन आह्वान गरेको छ।
उनको राजनीतिक यात्रा २०५१ सालदेखि वाम विद्यार्थी आन्दोलनबाट सुरु भएको देखिन्छ। १८ वर्षकै उमेरमा विद्यार्थी संगठनको स्थानीय सभापति बनेका शाहीले २०५५ देखि २०६९ सालसम्म अन्तर्राष्ट्रिय प्रचार विभाग, प्रशिक्षण तथा संगठन विभाग हुँदै विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
शाहीले विश्वका ६० भन्दा बढी देशमा आयोजित अन्तर्राष्ट्रिय युवा सम्मेलन तथा कार्यक्रममा सहभागिता जनाउँदै विश्व प्रजातान्त्रिक युवा संघको उपाध्यक्षको भूमिकासमेत निर्वाह गरेका छन्। शैक्षिक रूपमा उनले जवाहरलाल नेहरू विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक स्रोत साधन व्यवस्थापन विषयमा एमफिल अध्ययन गरेका छन्।
यसअघि उनी पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका राजनीतिक सल्लाहकारको रूपमा काम गरिसकेका छन्। साथै, युथ भिजन–२०५१ निर्माण कार्यदलको संयोजक, कर्णाली प्रदेश योजना आयोगका सदस्य तथा उपाध्यक्षका रूपमा प्रदेशको योजना, नीति र विकास निर्माण प्रक्रियामा महत्वपूर्ण योगदान दिएको दाबी गरिएको छ।
हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका शाहीलाई पार्टीले अनुभवी, नीतिगत रूपमा सक्षम र कर्णालीको आवाज संसदसम्म पुर्याउन सक्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ।








प्रतिक्रिया दिनुहोस्