२०८३ वैशाख ४ गते शुक्रबार

दैलेख–२ मा एमालेका लक्ष्मी प्रसाद पोखरेललाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार योगेन्द्र शाहीको बधाई



दैलेख : दैलेख क्षेत्र नम्बर–२ मा नेकपा (एमाले) का उम्मेदवार लक्ष्मी प्रसाद पोखरेल विजयी हुने अवस्था बनेपछि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार योगेन्द्र शाहीले उनलाई बधाई दिएका छन्।
शाहीले दैलेख–२ का आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई सम्बोधन गर्दै यस क्षेत्रको मत परिणाम करिब निश्चित भइसकेको र विजयीन्मुख उम्मेदवार लक्ष्मी प्रसाद पोखरेललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
उनले प्रतिस्पर्धामा सहभागी भएका सबै उम्मेदवारप्रति सहानुभूति व्यक्त गर्दै आफूलाई माया गरी अमूल्य मत दिने र निर्वाचन सफल बनाउन भूमिका खेल्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन्।
शाहीले लोकतन्त्रमा हार र जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै देशव्यापी रूपमा देखिएको जनताको अभिमत र परिवर्तनको चाहनालाई उच्च सम्मान गर्ने बताएका छन्।
उनले नेपालमा हरेक राजनीतिक परिवर्तनपछि शान्ति, स्थिरता र समृद्धि सुनिश्चित गर्न राजनीतिक दलहरू पटक–पटक चुकेको टिप्पणी गरेका छन्। नेताहरूबीच हुने फुट, विभाजन र सत्ताका लागि हुने चलखेलका कारण बेरोजगारी र भ्रष्टाचार बढ्दै गएको उनको भनाइ छ।
शाहीले प्रतिनिधि सभामा निर्वाचित हुने तथा हुन गइरहेका सबै उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार