२४ भदौ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–३ का २६ वर्षीय भुवन भण्डारी र बराहाताल गाउँपालिका–९ का २८ वर्षीय चन्द्र बहादुर बुढाथोकी छन् ।
उनीहरूको साथबाट १८ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित १० हजार नौ सय बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।डीएसपी विश्वकर्माका अनुसार उनीहरूलाई आइतबार बेलुका वीरेन्द्रनगर–८ क्याम्पस रोडबाट नियन्त्रणमा लिइएको हो । क्याम्पस रोड क्षेत्रमा लागु औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्