मेरो अगाडि उभिएको छ—एउटा विशाल रङहीन पर्खाल,
जसलाई मानिसहरू ‘संसार’ भन्छन्।
यहाँ उज्यालो त हुन्छ रे, घाम झुल्किन्छ रे,
तर मेरो भागमा जहिल्यै एउटै रङ पर्छ—कलिलो र गाढा कालो।
म बिहानको न्यानोपनलाई छालाले छामेर महसुस गर्छु,
अनि रातको सन्नाटालाई आफ्नै सुस्केरामा सुन्छु।
मेरो लागि दिन र रातको भिन्नता केवल तापक्रमको उतारचढाव मात्र हो,
बाँकी त सब उस्तै छ—एउटै अनन्त शून्य।
म हिँड्दा ठोक्किने भित्ताहरू,
मलाई गिज्याउने सडकका खाल्डाखुल्डीहरू,
अनि मेरो हातमा रहेको त्यो सेतो लाठी—
यिनीहरू नै हुन् मेरा अनन्य मित्र, जसले मलाई पलपल जीवित भएको आभास दिलाउँछन्।
तर जब म भीडमा निस्कन्छु,
कानमा ठोक्किन आइपुग्छन् अचम्मका शब्दहरू—
कसैले भन्छन्— “बिचरा! पूर्वजन्मको पापको फल हो।”
कसैले भन्छन्— “विधिको विधान, भाग्यको खोट हो।”
म सोध्छु— के आँखा नहुनु नै अपराध हो?
के उज्यालो संसार नदेख्नु नै सजाय हो?
मलाई सहानुभूति र दयाको भीख चाहिँदैन,
मलाई तिम्रो आँखाको ‘बिचरा’ भावको सित्तैको दान चाहिँदैन।
किनकि म देख्छु—यो सहरमा कति धेरै आँखाहरू छन्,
जो सडकमा भोकले तड्पिरहेको एउटा अबोध बालक देख्दैनन्,
जो न्यायको लागि रोइरहेकी एउटी आमाको आँसु देख्दैनन्,
तर चम्किलो विज्ञापन र शक्तिको कुर्सी भने निकै परबाटै देख्छन्।
कस्ता अनौठा आँखाहरू!
जसले छिमेकीको रोदन देख्दैनन्, तर कसैको कमजोरी ऐना झैँ छर्लङ्ग देख्छन्।
हो, मेरा आँखाहरू बन्द छन्,
म यो प्रकृतिको रङ्गीन रूप देख्न सक्दिनँ,
म आकाशको निलोपन र फूलको लालिमा ठम्याउन सक्दिनँ।
तर मेरो चेतना जागै छ, मेरो आत्मसम्मान जलिरहेको छ।
मेरो मनको आँखाले यो संसारको वास्तविक अनुहार देखिरहेको छ।
अन्धो त त्यो जीवन हो—
जहाँ करोडौँका भव्य महल त छन्, तर मानवता बस्ने सानो झुपडी छैन।
अन्धो त त्यो चेतना हो—
जसले मान्छेलाई जात, धर्म र पैसाको चस्मा लगाएर मात्र हेर्न सक्छ।
जसको मनको मझेरी पूरै अँध्यारो छ, तर बाहिर उज्यालोको ढोँग रच्छ।
वास्तवमा, भौतिक रूपमा आँखा नहुनु अन्धोपन होइन,
त्यो त केवल एउटा शारीरिक अपूर्णता मात्र हो।
तर जहाँ विवेक मर्छ, जहाँ करुणा र संवेदनाको अन्त्य हुन्छ,
हो, त्यही विवेकहीन र स्वार्थी जीवन नै—महा-अन्धो जीवन हो।
र म खुसी छु, म कम्तीमा त्यस्तो अन्धो जीवन बाँचिरहेको छैन
तिर्थ प्रसाद अधिकारी
तानसेन पाल्पा।
>









प्रतिक्रिया दिनुहोस्